केन्द्रको उथलपुथल, वर्चस्वको लडाइँ र अनेक प्रश्नमाझ मधेशमा यस्तो छ चुनावी वातावरण

वीरगञ्जमा घन्टाघरस्थित एउटा बजार

तस्बिर स्रोत, GETTY

    • Author, फणीन्द्र दाहाल
    • Role, वरिष्ठ संवाददाता, जनकपुरबाट फर्किएपछि
    • Author, माधुरी महतो
    • Role, वीरगन्ज

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्न माहौल तयार पारिसकेको दाबी गरिरहँदा जनकपुरका युवा राजाराम महतो निर्वाचन हुने र नहुने सम्भावना आफूले बराबर देखेको बताउँछन्।

रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा स्नातक तहमा कम्प्युटर साइन्स विषयमा सातौँ सेमेस्टरमा अध्ययन गरिरहेका उनी निर्वाचन भए पनि पुरानै शक्तिहरू हाबी हुने ठान्छन्।

"जनकपुरमा अवस्था ज्यादै खराब छ। यहाँ पार्टीका मानिसहरू बढी छन्। अनि जातिजाति मिलेर भोट हाल्छन्। गाउँगाउँमा युवा पिँढीका सबै मानिसहरू विदेश गएका छन्। यो प्रदेशमा त्यत्ति धेरै शिक्षित मानिसहरू छैनन् कि उनीहरूले पार्टीका मान्छेबाहेक अरू स्वतन्त्र खालका मानिसहरूलाई भोट खसालून्।"

आफूले कुनै पनि दलको आबद्धता नलिएको बताउने महतो गएको भदौमा भएको जेन जी आन्दोलनमा पनि सहभागी भएका थिए।

आगामी चुनावमा प्रत्यक्षतर्फ शिक्षित र राम्रा उम्मेदवारहरूलाई मत खसाल्न पैरवी गर्ने उनी बताउँछन्।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने १६५ मध्ये ३२ जना सांसदहरू मधेश प्रदेशबाट चुनिन्छन्। बाग्मतीपछि सबैभन्दा बढी जनसङ्ख्या मधेश प्रदेशमा भएकाले यहाँबाट समानुपतिक प्रणालीमार्फत् आफ्नो पक्षमा बढीभन्दा बढी मत आकर्षित गर्न दलहरूले विशेष प्रयास गर्ने देखिन्छ।

राजाराम महतो विद्यार्थी हुन्। उनी चुनावको सम्भावना ५० प्रतिशत रहेको ठान्छन्

तस्बिर स्रोत, Rajaram Mahato

तस्बिरको क्याप्शन, राजाराम महतो विद्यार्थी हुन्। उनी चुनावको सम्भावना ५० प्रतिशत रहेको ठान्छन्

सुरक्षा चुनौतीको विश्लेषण

यसै साता जनकपुरमा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमा सरकारले निर्वाचन आयोजना गर्न चुनावको माहौल तयार पारिसकेको बताएका थिए।

क्षेत्रीय स्तरमा देखा परिरहेका सुरक्षा चुनौतीहरूमाझ राष्ट्रिय राजनीतिको प्रमुख दल नेपाली कांग्रेस विभाजनतर्फ अघि बढेकै दिन बुधवार उक्त बैठक बसेको थियो।

प्रादेशिक सुरक्षा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्याल

तस्बिर स्रोत, Nepal Police

तस्बिरको क्याप्शन, प्रादेशिक सुरक्षा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्याल

कांग्रेसभित्रको उक्त घटनाक्रमले चुनावी कार्यक्रम र भावी राजनीतिलाई नै प्रभावित पार्न सक्ने धेरैको आकलन छ।

तर उक्त बैठकपछि गृहमन्त्री अर्यालले बीबीसीलाई चुनाव गराउने कार्यादेशबाट सरकार विचलित नहुने बताएका थिए।

उनको भनाइ थियो, "निर्वाचनको प्रक्रिया अघि बढ्छ। यो एउटा संवैधानिक दायित्वभित्रको कुरा हो। यो सरकारको मुख्य म्यान्डेट हो। यसबाट सरकार विचलित हुँदैन।"

उक्त बैठकमा सहभागी अधिकारीहरूले होलीलगत्तै चुनाव हुन लागेको सन्दर्भ उल्लेख गर्दै तराइका कतिपय जिल्लामा देखिएका धार्मिक तथा साम्प्रदायिक तनाव प्रमुख सुरक्षा चुनौती बनेको 'ब्रीफिङ' गरेका थिए।

हुन पनि टिकटक पोस्टबाट उत्पन्न विवादका कारण धनुषाको कमला नगरपालिकाको एउटा गाउँमा मस्जिदमा तोडफोड भएपछिको तनाव पर्सासम्म पुगेको थियो।

ती घटनाहरू नियन्त्रणमा लिइएको र यस्ता घटनामा कानुनी प्रक्रियाअनुसार कारबाही गरिने अधिकारीहरू बताउँछन्।

चुनावी माहौल कस्तो?

वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका उपप्राध्यापक वीरेन्द्रकुमार साह निर्वाचनको मिति तय गर्ने समयमा ख्याल नपुर्‍याइएका कारण पनि केही संशय देखा परेको बताउँछन्।

उनले भने, "तराईको होली १९ गते छ। त्यसको दुई दिनपछि चुनाव छ। त्यसका कारण पनि मानिसको मनमा यो चुनाव सर्छ कि भन्ने आशङ्का छ। तर मधेश राष्ट्रिय राजनीतिबाट अलग छैन र बिस्तारैबिस्तारै दलहरूले चुनावी गतिविधि अघि बढाइरहेका छन्।"

जनकपुरका स्थानीय पत्रकार एवं विश्लेषक रोशन जनकपुरी मधेशमा सबै पक्षले चुनावको तयारी गरिरहेको बताउँछन्।

उनले भने, "आआफ्ना बहसहरू छन्। अन्योल भए पनि चुनाव हुँदैन भन्ने स्वर मसिनो छ। नागरिकमा पनि माहौल बढ्दै गएको देखिन्छ।"

मधेश राजनीतिको एउटा महत्त्वपूर्ण केन्द्र वीरगन्जमा घोषित मितिमा चुनाव हुनेमा केही सर्वसाधारणहरूले आशङ्का गरिरहेका छन्।

वीरगन्जमा शृङ्गार व्यवसाय गर्ने राधा शर्मा फागुन २१ मा चुनाव हुने सम्भावना आफूले एकदमै कम देखेको बताउँछिन्।

उनले भनिन्, "कांग्रेसभित्रको विभाजन र बाहिर चलिरहेका अनेक थरी हल्ला सुन्दा चुनाव हुँदैन। भयो भने पनि मधेशमा आफ्नै जातलाई भोट दिने खालको कुरा हुन्छ, त्यही भएर यहाँबाट पुरानै चुनिन्छन् जस्तो मलाई लाग्छ। जेन जीहरू आउनका लागि सङ्गठन हुनुपर्‍यो, त्यस्तो भएको छैन।"

स्थानीय सिद्धार्थ इन्टर्न्याश्नल कलेजकी व्यवस्थापक रहेकी सुष्मा तिवारीले थपिन्, "देशको परिस्थिति यस्तो छ अनि विभिन्न पार्टीहरू फुट्ने र नयाँ बन्ने भइरहेको छ। जेन जी आन्दोलनपछि देशमा नेताहरू घरदैलोसम्म पुग्ने अवस्था शतप्रतिशत सहज छ कि छैन भन्नेमा नै प्रश्नचिह्न छ। नागरिकहरू दोधारमा नै छन् भन्ने लाग्छ।"

वीरगन्जको घण्टाघरमा एउटा अपराह्न गुडिरहेका मोटरसाइकल र सडकमा हिँडिरहेका केही पैदलयात्रु

नेपाली कांग्रेस, नेकपा एमाले र विभिन्न मधेशकेन्द्रित दलहरू तराईका प्रभावशाली राजनीतिक शक्तिहरू हुन्।

यसपालि महोत्तरी पुर्ख्यौली थलो रहेका काठमाण्डूका मेयर बालेन शाहलाई अघि सारेर राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँ आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरिरहेको छ।

चुनावी गतिविधि र प्रचार अभियान

जनकपुरआसपास चुनावी अभियानमा मुख्य दलहरू होमिइसकिएका छैनन्। सोमबार तिरहुतियागाछी मैदानमा रास्वपाले एउटा सभा आयोजना गर्न लागेको बताइएको छ, जसमा सो दलका सभापति रवि लामिछाने र बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम छ।

रास्वपाले ३५ वर्षका बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेपछि २१ वर्षका विद्यार्थी राजाराम महतोजस्ता कुनै दलमा आबद्ध नभएका युवाहरूमा 'घण्टी' प्रति आकर्षण देखिन्छ।

एउटा विद्युतीय रिक्सामा जनकपुरको जानकी चौकमा सवार यात्रुहरू। उक्त रिक्सामा 'अबकी बार बालेन सरकार' लेखिएको स्टिकर टाँसिएको छ।
तस्बिरको क्याप्शन, जनकपुरका केही ठाउँमा बालेन शाहको नाम तथा तस्बिर प्रयोग गरिएका प्रचार सामग्री देखिए

जानकी मन्दिरनजिकै उखु जूसको स्टल सञ्चालन गरिरहेका ईश्वर साह त्यस ठाउँछेउछाउ जम्मा हुने युवाहरू चुनावका बारेमा कुराकानी गर्न थालेको आफूले सुनेको बताउँछन्।

उनको स्टलछेउमा एउटा नीलो रङ्गको विद्युतीय रिक्सा रोकिएको छ, जहाँ आगामी सरकारको नेतृत्व गर्ने व्यक्तिका रूपमा बालेन शाहलाई प्रस्तुत गरिएको एउटा सानो स्टिकर टाँसिएको छ।

बालेनको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिकामा अवस्थित छ। झन्डै ३२ हजार जनसङ्ख्या रहेको उक्त गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै जनता समाजवादी पार्टीबाट निर्वाचित भएका हुन्।

विगतमा त्यस क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उमेरले आठ दशक नाघेका ठाकुरले यसपालि कांग्रेसको समर्थनमा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

एकडाराका धेरैले बालेनलाई प्रत्यक्ष रूपमा देखेका छैनन् र यहाँका कतिपय युवाहरू एक पटक हेर्न र कुरा सुन्नकै लागि भएपनि जनकपुरको सभामा सहभागी हुने बताइरहेका छन्।

सतीशकुमार यादव
तस्बिरको क्याप्शन, बालेन आफ्नो गृहजिल्लाबाटै चुनाव लडून् भन्ने चाहेको स्थानीय युवा सतीशकुमार यादव बताउँछन्

जलेश्वरमा ल्याब असिस्टन्टका रूपमा काम गर्ने स्थानीय युवा सतीशकुमार यादवले भने, "मधेश धेरै पछाडि छ, यहाँ सिँचाइ, शिक्षा, बाटोघाटो केहीमा पनि सुधार छैन। हामीले उहाँ हाम्रो क्षेत्रमा आएर चुनाव लड्नुहोस् भन्ने चाहेका थियौँ।"

उनले थपे, "अझै पनि हामी उहाँलाई आफ्नै महोत्तरी क्षेत्र नम्बर ३ बाट आएर चुनाव लड्न अनुरोध गर्छौँ।"

बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कोशी प्रदेशअन्तर्गत झापा क्षेत्र नम्बर पाँचबाट उम्मेदवारी दिने विवरण आएको छ। त्यसलाई लिएर हालैका दिनमा ओलीले कटाक्ष गर्दै आएका छन्।

वन्यजन्तु संरक्षणमा अभियानकर्मी देवनारायण मण्डल बालेनलाई राष्ट्रिय राजनीतिमा अवसर भएको बताउँछन्
तस्बिरको क्याप्शन, वन्यजन्तु संरक्षणमा अभियानकर्मी देवनारायण मण्डल बालेनलाई राष्ट्रिय राजनीतिमा अवसर भएको बताउँछन्

मिथिला क्षेत्रमा वन्यजन्तु संरक्षणका क्षेत्रमा काम गरिरहेका अभियानकर्ता देवनारायण मण्डललाई यसपटक रास्वपाले आफ्नो समानुपातिक उम्मेदवार सूचीमा राखेको छ। उनले अहिलेसम्म आफूले बालेन वा रवि लामिछाने कसैलाई नभेटेको र आफ्नो विज्ञता उपयोग हुन सक्ने ठानेर उक्त सूचीमा बस्‍न तयार भएको बताए।

उनी भन्छन्, "अहिलेसम्म मधेश जुन ठगिएको छ, त्यसमा अधिकांश यहाँबाट धोतीकुर्था लगाएर जितेर जानेकै हात छ। मेरो बुझाइ के छ भने धोतीकुर्ता लगाउनु आवश्यक नै छैन। ढाका टोपी, दौरासुरुवाल नै लगाएर पनि विभेदरहित नेपाल निर्माण गरिदियो र सबैलाई म नेपाली हुँ भन्ने गर्व गराइदियो भने पुग्छ।"

पुरानो शक्ति कि नयाँ

जनकपुरस्थित विश्लेषक रोशन जनकपुरी मधेशमा चुनाव भए पनि त्यसमार्फत् पुरानै शक्तिहरूले मधेशमा वर्चस्व कायम गर्ने सम्भावना आफूले देखेको बताउँछन्।

उनले भने, "केही अस्वाभाविक भएन भने अहिले पनि म मधेशमा पुरानै दलहरूको वर्चस्व हुने अवस्था देख्छु किनभने जुन नयाँ शक्तिहरू आएका छन्, तिनीहरूको सङ्गठन देखिएको छैन।"

उनले थपे, "पुराना दलहरूको राजनीतिक र आन्दोलनको लिगेसी छ अनि तल सामाजिक संरचनाहरूमा पनि उनीहरूको पहुँच छ। नयाँ दलहरूले केही मत ल्याउँछन् तर मधेशमा धेरै प्रभाव पार्छन् भन्ने मलाई लाग्दैन।"

भारतमा विद्यार्थी राजनीतिबाट उदाएका कन्हैया कुमारको चर्चा धेरै भए पनि चुनावमा त्यो मतमा परिणत नभएको बताउँदै यहाँ पनि त्यस्तो अवस्था आउन सक्ने उनले जिकिर गरे।

उनले फुटका कारण मधेशमा कांग्रेस कमजोर हुन सक्ने टिप्पणी गरे।

वीरगन्जस्थित उपप्राध्यापक वीरेन्द्र साह चुनाव भएको खण्डमा पुरानै शक्तिहरूले बलियो उपस्थिति देखाउने भए पनि रास्वपाले पनि आफ्नो प्रभाव बढाउने ठान्छन्।

उनले भने, "समानुपातिकमा त अलिक राम्रै ल्याउँछ जस्तो मलाई लाग्छ। तर कांग्रेसमा गगन थापाहरूले जुन विद्रोह गरे, यसले अलिकति रास्वपालाई नोक्सान पुर्‍याउँछ। अहिले कांग्रेसभित्र पनि यस्ता मानिसहरू छन्, नेतृत्वलाई चुनौती दिएर नागरिक आवाज बोल्छन् भन्ने सन्देश गएको छ।"

उनले कांग्रेसभित्र भएको 'विद्रोह'ले अरू पुराना दलहरूलाई पनि रूपान्तरणका लागि दबाव सृजना गर्ने भन्दै पुरानो नेतृत्व पङ्क्ति विस्थापित नभएसम्म राजनीति सङ्लो हुने सम्भावना नरहेको बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।